प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिनु हुने भएको छ। उहाँले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो।

नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। विश्वासको मत प्राप्त गर्न दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा एक सय ३८ सांसदको समर्थन आवश्यक पर्छ।

प्रधानमन्त्री ओलीलाई प्रमुख दल नेपाली कांग्रेसको ८८, नेकपा (एमाले) को ७८, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी एक सय ९४ मत पक्षमा आउने देखिन्छ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादीले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्।

असार १७ गते राति कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सात बुँदे सहमति भएको थियो। प्रमुख दुई दलबीच संविधान संशोधनलगायतको विषयमा सहमति भएको भनिए पनि सहमतिपत्र अहिलेसम्म सार्वजनिक भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *