सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।
काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको हो। विमानका पाइलट मनिष शाक्य घाइते हुनुभएको छ। उहाँको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको छ।
सरकारले उक्त जहाज दुर्घटनाको बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन समेत गरेको छ। सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी रहनुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहनुभएको छ ।
आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । सञ्चारमन्त्री गुरुङकाअनुसार आउँदा दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी वायुसेवा सञ्चालन गरिरहेका सञ्चालक कम्पनीले विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राधिकरणले त्यस्को सघन अनुगमन गर्ने निर्णय गरेको छ ।
