सर्वाेच्च अदालतले पूर्वमन्त्री गाेविन्दराज जाेशीलाई भ्रष्टाचार मुद्दामा दाेषी ठहर गरेकाे छ । न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आज पूर्वमन्त्री जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको हो ।
यसअघि विशेष अदालतले जाेशीलाई अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार तीन सय ७६ रुपैयाँ जरिबानाकाे फैसला गरेकाेमा सर्वाेच्चले कैद र जरिबाना दुवै घटाउँदै फैसला गरेकाे हाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जोशीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा २०६० सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
२०६९ फागुन ६ गते सर्वोच्चमा जोशी विरुद्ध नेपाल सरकारले दर्ता गराएको निवेदनसहित उनले पनि दायर गरेको पुनरावेदन पेश भएको थियो । भ्रष्टाचार मुद्दामध्ये यो भिआईपी प्रतिवादी भएको र पुरानो मध्येको एउटा मुद्दा हो ।
जोशीको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पहिलो पटक २०७६ साउन २३ देखि अन्तिम सुनुवाइ हुने हुने भनिएको थियो । तर तत्कालीन समयमा कानुन व्यवसायीले आय गणनको कुरा उठाएपछि सुनुवाइ रोकिएको थियो ।
यसअघि सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सुरु अनुसन्धान फाइल मगाउने आदेश गरेको थियो। अख्तियारले उक्त आदेशमा जवाफ बुझाएपछि सर्वोच्चले अन्तिम सुनुवाइ सुरु गर्ने भनेको थियो।
२०७६ साउन २३ गते जोशीका कानुन व्यवसायीले बहस सुरु गरेका थिए। उनीहरुले जोशीको सम्पत्ति गैरकानुनी नभई वैधानिक आर्जनबाट प्राप्त भएको दाबी गरेका थिए।
