अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ। भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको हो।

नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले मुनाको छातीमा गोली लागेको अवस्थामा शव अपार्टमेन्टमा फेला परेको जानकारी दिए। मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रूपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ।

उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन्। अपार्टमेण्टका कर्मचारीहरूका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो। त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

नेपालमा रहेका उनका परिवारका सदस्यलाई घटनाका बारेमा खबर गरिसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष गौतमले बताएका छन् ।