नेकपा एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिटब्यूरो चयन भएको छ। गएराति सम्पन्न मतगणनासँगै पोलिटब्यूरो सदस्य चयन भएका हुन्। 

आइतबारबाट काठमाडौँमा सुरू भएको केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकले पोलिटब्यूरो सदस्य चयन गरेको हो। सहमतिको प्रयास सफल नभएपछि पोलिटब्यूरो सदस्य छान्न निर्वाचन प्रणाली अवलम्बन गरिएको थियो। पदाधिकारीका १८ पदका लागि तीन गुणाबढी आकांक्षी देखिएपछि नेतृत्वलाई चयन गर्न सकस परेको थियो।

पदाधिकारीका लागि केन्द्रीय सदस्यहरूले मतदान गरेका थिए । गत असार १६ देखि २१ गतेसम्म काठमाडौंमा भएको १० औँ महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई निर्वाचित गरेको थियो। एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटी छ ।

समग्रमा विरोध खतिवडाले सबैभन्दा धेरै मत पाएका छन्। उनले २०१ मत पाएका छन्। रामकुमारी झाक्रीले १८२ मत हासिल गरेकी छिन्।