सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले नयाँ मुख्यसचिव नियुक्त गरेको हो ।

हाल गृहसचिव रहेका अर्याललाई भदौ १६ देखि लागू हुने गरी नेपालको २७ औं मुख्य सचिवमा नियुक्त गरिएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई १६ भदौदेखि लागू हुने गरी मुख्य सचिव नियुक्त गरेको एक मन्त्रीले बताएका छन् ।

सरकारले उत्कृष्ट कार्यसम्पादनका आधारमा अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो । निजामती सेवा ऐनमा बहालबाला सचिवहरु मध्ये कार्यसम्पादन तथा ज्येष्ठताका आधारमा एकजनालाई सरकारले मुख्य सचिव नियुक्त गर्न सक्ने प्रावधान रहेको छ । सो ऐन अनुसार उत्कृष्ट कार्यसम्पादनका आधारमा अर्याललाई मुख्य सचिव बनाइएको बताइएको छ । गृह मन्त्रालयमा सहसचिवको जिम्मेवारी वहन गर्दा गृह प्रशासन सुधार योजना निर्माण र कार्यान्वयनसम्बन्धी कार्य गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्य सचिव एकनारायण अर्याललाई सुधारका लागि विभिन्न सुझावसहित बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले अर्याललाई मुख्य सचिवको रूपमा नियुक्त भएकोमा बधाई दिँदै, नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न र सुशासन कायम गर्न निजामती प्रशासनलाई चुस्त बनाउने आवश्यकतामा जोड दिएका छन्।

प्रधानमन्त्री ओलीले सरकारको नीतिगत नेतृत्व प्रभावकारी कार्यान्वयनका लागि कर्मचारी प्रशासनको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सरकारले आवधिक भूमिका निर्वाह गर्ने भए पनि निजामती प्रशासन नै स्थायी सरकार भएको औँल्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *