नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल पारा ओलम्पिक खेलाडी पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगर परिक्रमा गराएको छ । नेपालका लागि पारालिम्पिक्समा पलेशाले ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा गरिएको हो ।
उनको र्याली बिहान एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा परिक्रमा पुगेर टुङ्गिएको छ । राखेपमा उनलाई स्वागत तथा उनको अन्तरक्रिया कार्यक्रम राखिएको छ।

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन्। सन् १९६४ को टोकियो ओलम्पिकदेखि ओलम्पिकमा तथा सन् २००४ को एथेन्स पारालिम्पिकदेखि नेपालले पारा ओलम्पिकमा सहभागिता जनाउँदै आएको थियो।
पारालिम्पिक्समा पलेशासहित पौडी खेलाडी भीमबहादुर कुमाल र तेक्वान्दोकै खेलाडी भरतसिंह महता सहभागी भएका थिए।टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वागत गर्नुभयो।

एशियाली खेलकुद प्रतियोगितामा प्राप्त भएका रजत पदक नै नेपाली खेलकुद इतिहासको उच्च सफलताका रुपमा रहेको थियो। अब पेरिस पारा ओलम्पिकमा पलेशाले प्राप्त गरेको सफलताले नयाँ इतिहास बनाएको छ।
