असोज संक्रान्तिको अवसरमा आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा मनाइँदैछ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।

शिल्प र प्रविधिसम्बन्धी काम गर्नेहरूले विश्वकर्माको पूजा-आराधना गर्छन्। यो दिन विश्वकर्मासँगै बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रको पूजा गर्ने चलन छ।

कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन्। विश्वकर्मा खुशी भए उनको गुण आफूमा प्राप्त हुने विश्वासमा कालिगढ उनको पूजा-आराधना गर्छन्।

यसै अवसरमा नेपाल ज्योतिष परिषद्को केन्द्रीय कार्यालय डिल्लीबजारमा मंगलबार विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा वास्तु शास्त्रका विषयमा छलफल एवं प्रवचन हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *