प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड्काउने, त्रास फैलाउन र भ्रामक सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यममाथि कारबाही थालेको छ।
काउन्सिलका अनुसार सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री प्रकाशन तथा प्रसारण गर्ने ११ वटा मिडियाका १४ वटा आपत्तिजनक सामग्री तत्काल हटाउन निर्देशन दिइएकोमा १० वटा सञ्चारमाध्यमले आफ्ना विवादास्पद सामग्री हटाएका छन्।
अफवाह फैलाएर समाजलाई थप उत्तेजित बनाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजहरूमाथि निगरानी बढाउँदै काउन्सिलले अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचारसमेत गरेको छ।
पटकपटक सचेत गराउँदा पनि भ्रामक सामग्री हटाउन नमान्नेलाई काउन्सिलले अन्तिम पटकका लागि भन्दै पुनः सचेत गराएको छ।
यस्तै पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने जनाएको हो।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति फैलाउन काम भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ,’ गृह मन्त्रालयको सूचनामा उल्लेख छ।
