जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन्। विभिन्न मुद्दामा पक्राउ परी थुनुवामा रहेका ९ जना भागेको तीमध्ये एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
आज बिहान करिब ४ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेका र भागेकामध्ये सत्यम् झा नामका थुनुवा जनकपुरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।
प्रहरीका अनुसार फरार थुनुवाहरू लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत थुनामा रहेका थिए। फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार छन्। यस्तै अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर पनि फरार भएका छन्।
फरार भएकाहरूको खोजीका लागि बिहानैदेखि विभिन्न ठाउँमा ‘सर्च’ अभियान चलाएको प्रवक्ता अवाले बताए। फरार भएकाहरुलाई कसैलाई देखेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
