एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । एसईई पूरक परीक्षामा सहभागीमध्ये ५६ दशमलव ७८ प्रतिशत परीक्षार्थीहरूले ग्रेड प्राप्त गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि परीक्षा) को नतिजा हिजो (सोमबार) प्रकाशन गरेको हो । परीक्षामा दुई लाख १० हजार ३ सय २१ जना सहभागी भएका मध्ये एक लाख १९ हजार ४ सय २५ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ ।

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागीमध्ये ९० हजार ८ सय ८८ जना ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । २०८० सालको एसईईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए ।

विभिन्न ११ ओटा संस्थाको वेबसाइट, आईभीआर एसएमएसमार्फत राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट बाट नतिजा सहजरुपमा हेर्न सकिने व्यवस्था गरिएको छ ।

संस्थाहरुको जानकारी परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को बेवसाइटमा राखिएको परीक्षा बोर्डले जनाएको छ ।