अविरल वर्षाका कारण पश्चिम नवलपरासीको जंगलमा बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जंगलमा पूर्व–पश्चिम राजमार्ग भासिएको हो।

सडक अनुमानित डेढ फिट भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युतको ‘हाइटेन्सन पोल’ पनि सडकमा ढलेको बोहराले बताए। बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयास भइरहेको उनले जानकारी दिए।   

सोमबार साँझ ५ बजेतिर सडक भसिएर आवागमन अवरुद्ध बनेको भन्दै यात्रुहरू अलपत्र परेपछि सोमबार राति साढे ११ बजेदेखि मर्मत सुरू गरिएको उनले बताए। 

आज बिहानसम्म मर्मत सम्पन्न गरी नियमित सडक सञ्चालन गर्नेगरी काम भइरहेको बताइएको छ।