मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुबैजना चालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराका अनुसार मृत्यु हुनेमा जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्ल रहेको बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र मल्ललाई राति नै उपचारका लागि धनगढीको नवजीवन अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यस्तै बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीय दीपक बोहोरा घाइते भएका छन् । बोहोराको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।