‘एच–फाइभ–एन–वान’ वर्डफ्लु भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको छ।
भियतनाम समाचार एजेन्सी (भीएनए) का अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ नाइमा रहेको भुओन जोई चिडियाखानामा जनावरहरुको मृत्यु भएको हो।
“नेसनल सेन्टर फर एनिमल हेल्थ डायग्नोसिस”को परीक्षणको नतिजाअनुसार जनावरहरूको मृत्यु ‘एच–फाइभ–एन–वान’ टाइप–ए भाइरसको सङ्क्रमणबाट भएको भिएनएले जनाएको छ।
चिडियाखानाहरूले यस विषयमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन्। वन्यजन्तु संरक्षणमा केन्द्रित गैरसरकारी संस्था “एजुकेशन फर नेचर भियतनाम (ईएनभी)” ले सन् २०२३ को अन्त्यमा भियतनाममा कुल ३ सय ८५ बाघ बन्दी अवस्थामा रहेको बताएको छ।
सन् २०२२ देखि ‘एच–फाइभ–एन–वान’ सहित इन्फ्लुएन्जा भाइरसका कारण स्तनपायीहरूमा घातक प्रकोप बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले जनाएको छ।
भियतनामले मार्चमा विश्व स्वास्थ्य सङ्गठनलाई यस भाइरसबाट मानिसको ज्यान गएको जानकारी दिएको थियो ।
