टी–२० आई सिरिजमा नेपालले आयोजक राष्ट्र अमेरिकालाई पराजित गरेको छ। टेक्ससको डालासस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपालले अमेरिकाविरुद्ध १७ रनको जित निकालेको हो ।
अमेरिकालाई निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै नेपालले १ सय ६५ रनको चुनौती दिएको थियो। अमेरिका २० ओभरमा ७ विकेट गुमाएर १४७ रनमा सीमित भएको हो। अमेरिकाका लागि शायन जहानगिरले सर्वाधिक ६० रनको योगदान दिए। उनले ३४ बलमा छ चौका र दई छक्काको सहायाताले ६० रन बनाएका हुन्। आन्द्रेस गौसले ३० रन बनाए भने मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए भने करण केसी, रिजन ढकाल र गुल्सन झाले समान एक–एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै एक सय ६४ रनको योगफल बनाएको थियो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन्।दीपेन्द्र ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन, आसिफ सेख र अनिल शाहले समान २७-२७ रन जोडे। त्यस्तै गुल्शन झाले ११, कुशल भर्तेल १० रन र सोमपाल कामीले २ रन बनाए। अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिए भने अली खान र नोष्थुश केङ्जिगेले एक–एक विकेट लिए ।
अमेरिका र नेपालबीच तीन ट्वान्टी २० खेल आयोजना हुनेछन्। दोस्रो खेल पर्सि बिहान र तेस्रो तथा अन्तिम खेल सोमबार बिहान हुनेछ। त्यसपछि दुवै टोली आईसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा सहभागी हुनेछन्।
