सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। जसमा लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो।
उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजिम पक्राउ पुर्जी जारी भएको हो। यसअघि सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेका साथै छविलाल जोशी, जीबी राईलाई कारबाही गर्न सिफारिस गरेको थियो। उनीहरुले सहकारीको रकम गोर्खा मिडियामा ल्याएर हिनामिना गरेको आरोप छ।
