राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन आरोपमा पक्राउ गरिएको छ। उनलाई गोरखा मिडिया नेटवर्क प्रा.लि.मा सहकारीको रकम अनियमितता गरेको आरोपमा प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको हो।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको केही घण्टामै प्रहरीको सिआइबीले उनलाई काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको हो।

कास्की जिल्ला प्रहरी कार्यालयको अनुरोधपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक प्रहरी उपरीक्षक (एसपी)को नेतृत्वमा टोली खटाई उनलाई पक्राउ गरेको हो। लामिछानेलाई शुक्रबार नै कास्की जिल्ला प्रहरी कार्यालय लैजाने तयारी गरिएको छ।

पक्राउ पुर्जी जारी भएको केहीबेरमै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले नयाँ पुस्तालाई एक–एक गरेर सक्काउँदै जाने कुनियत देखिएको टिप्पणी गरेका छन्। उनले कानूनलाई पूरा सघाउने प्रतिबद्धता पनि व्यक्त गरे।