हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिकदेखि साधारणतया बदली रही र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
आज पहाडी भू–भागका एक-दुई ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना रहेको र बाँकी ठाउँको मौसम सफा रहने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका एक-दुई ठाउँमा मेघगर्जन/चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ । केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहे पनि ठूलो पानी पर्ने सम्भावना कतै पनि नरहेको महाशाखाले जनाएको छ ।

