बडा दसैँको लगत्तै आउने नेपालीहरूको अर्को महत्त्वपूर्ण चाड तिहार सबैको घरदैलोमा आइसकेको छ। आजबाट यमपञ्चक सुरु भएको छ। यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन्। आज धन त्रयोदशी अर्थात् धनतेरस । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।
धन्तेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन छ। धन्तेरसको दिन कमलको पुष्पासनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ। गच्छ अनुसार तपाईँले माटोको मूर्ति वा तस्बिर पनि लिन सक्नुहुनेछ। मूर्ति लिँदा ध्यान दिनुपर्ने कुरा के छ भने माता लक्ष्मीजी कमलको पुष्पा सनमा बसेकै हुनुपर्दछ, उभिएको हुनुहुँदैन। यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको बास हुन्छ।
धन्तेरसमा भाँडाकुँडा खरिद
तपाईँ धन्तेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दै हुनुहुन्छ भने जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ। सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ। धनतेरसको दिन किनेको सामान घरको पूर्व उत्तर दिशा (ईशान कोणमा) लगेर राख्नुपर्दछ। यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिँदैन। अतः आफ्नू लागि मात्र राख्नुपर्दछ। यसो गर्नाले कुबेरजी पनि प्रसन्न भई तपाइको घरमा विराजमान हुनुहुनेछ । धन त्रयोदशीमा कालो रङ्गको कुनै पनि वस्तु खरिद गर्नुहुँदैन।
धन्तेरसको दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडी कमल गट्टा र सिङ्गो धनियाँ लक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्नेछ।
आजको दिनबाट लक्ष्मी उत्सव सुरु हुने भएको हुनाले आज पनि लक्ष्मी माताको विशेष पूजा अर्चना गर्नु महत्त्वपूर्ण मानिन्छ।
