नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।
राष्ट्रिय विभूति तथा नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए।
‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो,’ उनले भने।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ।
म्हः (आत्म) पूजा
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ। कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्।
यस वर्ष शनिबार प्रतिपदा तिथि परेको छ। भक्तपुर लगायत केही स्थानमा पनि नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ। भक्तपुरमा आत्मपूजा पनि गरिएको जनाइएको छ।
देशभरका धेरै नेवार समुदायले भने आज शनिबार नेपाल संवतको नयाँ वर्ष र म्हः (आत्म) पूजा गर्दैछन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ।
