मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व शुरू भएको छ। यो पर्व कात्तिक शुक्ल पञ्चमीदेखि शुरू भई १० दिनसम्म मनाइन्छ। ११औँ दिन पूर्णिमामा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन गरिन्छ।

आजदेखि १० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले मिथिलाको प्रत्येक गाउँटोलको चौबाटो, दोबाटो र सार्वजनिक स्थानमा सामाचकेवा खेल्ने गर्दछन्। सामा चकेवा खेल्नाले दाजुभाइको सुस्वास्थ्य रहने, आयु लामो हुने र समृद्धि हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास छ।

आज बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भीरमा गएर सामाचकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याएका छन्।

सामा चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रंग भरेर सामा चकेवा रङ्गीचङ्गी बनाइन्छ। संस्कृतिविद् ध्रुव रायले रंगीन सामा चकेवालाई राति रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कूल, धर्मशाला, मन्दिर र छठघाटमा लगेर १० दिनसम्म गीत, नाच गर्दै दाजुभाईको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्ने चलन रहेको बताए।

समूहगत रुपमा चेलीबेटी तथा छोरीबुहारीहरु ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चंपा फूल लगाइदिय’ ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’लगायत गीतहरु गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबै दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् ।

११औँ दिनमा बिहानै पुनः सामा चकेवा बनाई, रंगरोगन गरी  र दिनभरि सुकाएर बेलुका दही चिउरा खुवाउँछन्। सोही सामा चकेवाबाट दाजुभाइको फार भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाउने विधि छ। त्यसपछि सामा चकेवालाई बाजागाजा, गीतनादका साथ दिदीबहिनीहरुले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गरेपछि पर्व समापन गरिन्छ।

सामा चकेवा खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीहरुप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वासअनुरुप तराईको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लाहरुमा यो पर्व लोकप्रिय बन्दै आएकाले हर्षोल्लासका साथ मनाउने गर्दछन्।