आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस। हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ। यो वर्षको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ।

सन् १९४८ डिसेम्बर महिनाको १० तारिखमा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ।

नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दछ । विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च महत्वका साथ अंगिकार गरेको छ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिँदै आइएको छ। ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम स्थापना भएको कोषबाट पुरस्कार दिँदै आइएको हो।

यस वर्ष भने नियमावलीले तोकेको योग्यता र कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले पुरस्कार प्रदान नगरिने मन्त्रालयले स्पष्ट पारेको छ। मानव अधिकारका क्षेत्रमा कटिबद्ध भएर लाग्नुभएका व्यक्ति वा संस्थाहरूको अनुरोधमा वार्षिक रूपमा प्रदान गरिँदै आएको पुरस्कारको राशिमा वृद्धि गर्न आवश्यक अध्ययन शुरू गरिएको मन्त्रालयले जनाएको छ।

आवश्यक अध्ययन र तयारी गरेर पुरस्कारको व्यवस्थालाई नियमित गर्ने विश्वास मन्त्रालयले दिलाएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता कोमलबहादुर खत्रीले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *