धनुषामा एक महिलाको शव गाडिएको अवस्थामा भेटिएको छ। मिथिला नगरपालिका–३ हरिहरपुरस्थित मुसहरी टोल निवासी ५० वर्षीया रेशमीदेवी बिनको हत्या गरी आफ्नै घरको शौचालय पछाडि गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवले बताए।

रेशमीदेवीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै पति ५५ वर्षीय दशैया मुखिया बिनलाई पक्राउ गरेको छ। गएको मंगलबार रातिदेखि हराइरहेकी रेशमीदेवीको खोजतलास गर्ने क्रममा बुधबार साँझ गाडिएको अवस्थामा शव फेला परेको उनले जानकारी दिए। 

प्रहरी निरीक्षक यादवका अनुसार घरायसी बिबादमा श्रीमान दशैयाले श्रीमतीको हत्या गरेको स्वीकारेका छन्। श्रीमान दशैयाकै बयानअनुसार श्रीमती रेशमीको शव फेला परेको हो।

बुधबार राति नै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी निरीक्षक सोनु साहको नेतृत्वमा पुगेको टोलीले शव उत्खनन गरी मुचुल्का गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो।

दशैयालाई प्रहरीले पक्राउ गरेको छ। राति मदिराको नशामा रहेकाले आज दशैयासँग बयान लिइने इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *