दुई हप्तामै तीन पटक सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्ने पूर्णिमा श्रेष्ठ अमेरिकी टेलिभिजन ‘सीएनएन’ को साहसी खेलाडीको सूचीमा परेकी छिन्। श्रेष्ठ सीएनएनको ‘द एक्सट्रिम एथ्लेट्स हु पुस्ड लिमिट्स इन २०२४’ को सूचीमा परेकी हुन्।
एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने उनी विश्वकै पहिलो महिला आरोही हुन्। फोटो पत्रकारसमेत रहेकी श्रेष्ठले गएको मे १२, १९ र २५ मा लगातार सगरमाथाको आरोहण गरेकी हुन्।

पूर्णिमा सातौं अग्लो हिमाल धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन्। उनले सन् २०२१ मा पासाङ ल्हामु शेर्पा अकितासँग धौलागिरी आरोहण गरेकी थिइन्।
सीएनएनको साहसी खेलाडीको सूचीमा परेसँगै पूर्णिमाले गौरवान्वित महसूस गर्दै सन् २०२४ आफ्नो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुगेको बताएकी छन्।
