अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ। एक सय वर्षको उमेरमा उनको निधन भएको हो। मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको फाउण्डेशनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

कार्टर १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बन्नु भएको थियो। उहाँ अमेरिकाको ३९ औं राष्ट्रपति हुनुहुन्थ्यो।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्टरको निधन सिङ्गो अमेरिका कार्टरप्रति ऋणि रहेको भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले लेखेका छन्, “हाम्रो देशको लागि महत्वपूर्ण समयमा जिम्मीले राष्ट्रपतिको रूपमा चुनौतीहरूको सामना गरे र अमेरिकी जनताको जीवन सुधार गर्न काम गरे ।

उहाँको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गरेका छन्। विज्ञप्ति जारी गर्दै उनले लेखेका छन्, “आज अमेरिका र विश्वले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी व्यक्ति गुमाएको छ।”

कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय जीवित रहने राष्ट्रपति बन्नुभएको छ। उहाँको एक सामान्य किसानबाट राष्ट्रपतिसम्मको यात्राबारे चर्चा भइरहेको खबरमा उल्लेख छ।

राष्ट्रपतिको कार्यकाल पछि कार्टरले आफूलाई मानवीय र शान्ति–प्रवर्द्धन गतिविधिहरूमा समर्पित गरेर सन् १९८२ मा कार्टर फाउन्डेसन स्थापना गर्नुभएको थियो।

फाउन्डेसन मानव अधिकारको रक्षा, अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा मध्यस्थता र विभिन्न देशहरूमा चुनावी प्रक्रियाहरूको पर्यवेक्षणमा केन्द्रित गैर–सरकारी संस्था हो। मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक काम गरेको भन्दै उहाँलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो।