तीनकुने क्षेत्रमा हिजो दिउँसोदेखि जारी गरेको कर्फ्यु हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबारदेखि तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश आज बिहान ७ बजेदेखि स्थगन गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौँको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार ४:२५ देखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो। रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश आज (शनिबार ) बिहान ७ बजेसम्मका लागि थपिएको थियो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौँको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म लगाइएको कर्फ्यु स्थगन गरिएको प्रशासन कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ।

शुक्रबार हिंसात्मक आन्दोलनमा उत्रिएका राजावादीहरूले कर्फ्यु जारी भइसकेपछि पनि काठमाडौँका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका थिए। आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

काभ्रे हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने गाडी पनि चल्न सकेका थिएनन्। कर्फ्यू हटेपछि गाडीको आवतजावत सामान्य हुन थालेको छ। यस्तै काठमाडौँका अरु ठाउँमा पनि गाडीको आवतजावत सामान्य रहेको प्रहरीले जनाएको छ।