गणतन्त्र पक्षधर दलहरुले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध पछिल्लो समयमा भइरहेका राजतन्त्रका पक्षमा भएका गतिविधिहरुमा मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र भएको निष्कर्ष निकालेका छन्। व्यवस्था र संविधानका विरुद्ध गतिविधि गर्ने पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका छन्।
आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको गणतन्त्र पक्षधरहरूको बैठकबाट सबै दलहरू पूर्वराजा शाहकै कारण यस्ता अराजक गतिविधि बढेको निष्कर्षमा पुगेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए। साथै, यस्ता गतिविधि सैह्य नहुने पनि दलहरूको निष्कर्ष रहेको लेखकले बताए। ‘गणतन्त्र र संविधानका विरोधमा गरिने कुनै गतिविधि सैह्य हुने छैन,’ उनले भनेका छन्।
सबै दलहरुले त्यस्ता गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सुझाव दिएका छन्। बैठकमा प्रधानमन्त्री ओलीले देशको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै पूर्वराजाका गतिविधि कानून र संविधानविरुद्ध भइरहेको पाइएकाले प्रमुख राजनीतिक दलका तर्फबाट सुझाव दिन आग्रह गर्नुभएको थियो।
