काठमाडौँ उपत्यकाको हावाको गुणस्तर अति अस्वस्थ अवस्थामा पुगेको छ। गर्मी र पिरो हावाले सास फेर्नै कठिन भएको छ। केही दिनदेखि नै वायु प्रदूषण बढेको काठमाडौँमा आज बिहानदेखि दिनभर नै अति अस्वस्थ अवस्थामा पुगेको हो।
बुधबार काठमाडौँ विश्वको प्रदूषित शहरहरूमध्ये दोस्रो स्थानमा रहेको छ। वायुको गुणस्तर केही स्थानमा त खतराको तहमा पुगिसकेको छ। अधिकांश स्थानमा अति अस्वस्थकरको तहमा छ।
“आज काठमाडौँ सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरको दोस्रो स्थानमा पुगेको छ। तर वायु प्रदूषण घटेर होइन कि दिल्लीको प्रदूषण बढेर। भोलि देखि थोरै प्रदूषण घट्ने देखिए पनि अर्को हप्तादेखि वर्षाको सम्भावना छ र आँखा पोल्न छोड्ला,” मौसमविद् विनोद पोखरेलले भने।
प्रदूषण बढ्दा उपत्यकाको भिजिबिलिटी पनि घटेको छ। आईक्यूएयरको तथ्यांक अनुसार बुधबार बिहान काठमाडौँको औसत एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २६८ माइक्रोग्राम प्रति घनमिटर मापन गरिएको छ। मंगलबार २२५ मापन भएको थियो।
पहिलो स्थानमा रहेको दिल्लीमा बिहान ३३६ प्रतिघण्टा २६१ माइक्रोग्राम प्रति घनमिटर मापन गरिएको छ। जबकि १०१ देखि १५० लाई नै संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ। १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई अति अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ।
देशव्यापी डढेलो, आगलागीको घटना बढेका, ग्रामीण इलाकामा कृषि अवशेष जलाउने क्रम बढेको, गाडीको चापका कारण वायु प्रदूषण बढेको वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दास बताउनुहुन्छ।
उहाँका अनुसार काठमाडौँ कचौरा आकारको भूगोलका कारण पनि विषाक्त हावा बाहिरिन नसक्दा वायुमण्डलबाट धूँवा–धूलोका कण हट्न नसकेका हुन् । यसमा सुधार हुन कि पानी पर्नुपर्छ वा बतास चल्नुपर्छ । तर तत्काल वर्षा वा हुरीबतासको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
