नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा आज ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन्।
नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र थाइल्याण्डका संस्कृतिमन्त्री सुडवान वाङसुफाकिज्कोसोलले सांस्कृतिक क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकी गरेका छन् ।
त्यस्तै परराष्ट्र मन्त्री डा देउवा र थाइल्याण्ड सरकारका पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तियनथोङले पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिन्। दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्याण्डका गैरसरकारी क्षेत्रहरूबीच विभिन्न छवटा समझदारीपत्रमा हस्ताक्षर भएको छन्।
यसमा नेपाल नेत्र ज्योति संघ र थाइल्याण्डको महिदोल विश्वविद्यालयअन्तर्गतको रामाथिवोदी अस्पतालबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारीपत्रमा नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा सङ्काय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उङ्कानन्तले हस्ताक्षर गरेका छन्।
त्यस्तै, जनता एग्रो एण्ड फरेस्ट्री नेपाल(जेएएफएल) र कासेटसार्ट विश्वविद्यालय थाइल्याण्डबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसिआई) र थाइल्याण्डको व्यापार बोर्डबीचको समझदारीपत्रमा हस्ताक्षर भएको हो।
काठमाडौँ विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालय सहकार्यसम्बन्धी पत्रमा पनि हस्ताक्षर भएको छ। नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासंघबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा समझदारी भएको छ। त्यस्तै, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्ड पर्यटन परिषदबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
थाइल्याण्ड सरकारको औपचारिक भ्रमण तथा छैठौँ ‘बिमस्टेक’ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत्र १९ गते यहाँ आएका थिए।
