नेपाली सेनाको टोली मेडिकल राहत सहित म्यान्मा प्रस्थान गरेको छ। गत चैत्र १५ गते म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएकोले सेनाको टोली त्यहाँ गएको हो।

मन्त्रिपरिषद्को सोमवार राति बसेको बैठकले राहत सामग्री तथा औषधी र मेडिकल उपकरणसहित नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय गरेको हो।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको विमानद्वारा म्यान्मा प्रस्थान गरेको हो। 

विभिन्न प्रकृतिका आवश्यक औषधि एवं उपकरणसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिक संलग्न रहेका छन्। उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाको स्वास्थ्य उपचार गर्नेछ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार हवाई जहाज ढुवानीको खर्च अर्थ मन्त्रालयबाट वायु सेवा निगमको नाममा निकासा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *