पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको छ।
सशस्त्र प्रहरी बल कालिका गण पोखराको विशेष विपद् उद्धार टोलीले आज बिहान देउराली चुमरुङस्थित मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ उनको शव फेला पारेको कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो।
अन्नपूर्ण आधार शिविर(एबीसी) को पदयात्रा सकेर घान्द्रुकतर्फ फर्कनेबेला पर्यटक बेपत्ता भएका थिए। प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार उनको शव पोखरा ल्याउने तयारी भइरहेको छ।
यही चैत्र ११ गते दिउँसो साढे १२ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरो गएको थियो।
