अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप बिहान पौने चार बजे दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका हुन् ।
मृत्यु हुनेमा जिपका चालक मालारानी ४ का २२ वर्षीय दिलीप खनाल र जिपमा सवार बालकृष्ण रिजाल छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार जिप अनियन्त्रीत भई सडकबाट दुईसय ५० मिटर खसेको जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा सात जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनामा परी जिपमा सवार मालारानी ४ कै १७ वर्षीय भुवन पोखरेल र बसन्त पोखरेल घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरीले जनाएको छ।
