इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले हराएको छ। हैदराबादले चेन्नईले दिएको १५५ रनको लक्ष्य ८ बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा पूरा गरेको हो।

हैदराबादका इशान किसनले ३४ बलमा ५ चौका र १ छक्कासहित ४४ रन जोडे भने मेन्डिसले अविजित रहँदै २२ बलमा ३२ रनको योगदान गरे। त्यस्तै ट्रेभिस हेड, अनिकेत शर्मा र नितिशकुमार रेड्डीले समान १९ रन जोडे। चेन्नईका लागि नुर अहमदले चार ओभरमा ४२ रन खर्चेर दुई विकेट लिए भने अन्सुल खम्बुजले ३ ओभरमा १६ रन खर्चेर एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई एक बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १५४ रनमा सीमित भएको थियो। पहिलो पावर प्लेमा ५० रन बनाउँदा चेन्नईले ३ विकेट गुमाइसकेको थियो।

ओपनर शेख रसिद गोल्डेन डक आउट भए। साम कुरान ९ रनमा र अर्का ओपनर आयुष महात्रे ३० रनमा समेटिए। डिवाल्ड ब्रेभिसले २५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै टोलीको लागि सर्वाधिक ४२ रन बनाए। दीपक हुड्डाले २२ र रविन्द्र जडेजाले २१ रन बनाए।

हैदरावादका पटेलले चार ओभरमा २८ रन खर्चेर चार विकेट हात पारे। उनी प्लेयर अफ द म्याच बने। विजयी हैदरावाद ६ अङ्कसहित अंक तालिकामा आठौँ स्थानमा उक्लिएको छ भने पराजित चेन्नई चार अङ्कसहित पुछारमा छ।