पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा रहेको गिरुवारी खोलाको पुल भाँचिएको छ। पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

पुलमा म.प्र.०३-००१ क ३१६३ नंको (१८ चक्के टेलर) किलिङ्गर कच्चा पदार्थ बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगञ्जतर्फ जाँदैगरेको टेलर पुलमा गुड्दै गर्दा पुल भासिनुका साथै पुलको छेउछाउमा समेत चर्किएकाले यातायात अवरुद्ध भएको हो।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालका अनुसार पुल केही भासिएकाले मर्मत नगरी यो पुलबाट गाडी चलाउन सक्ने अवस्था नरहेको र डाईभर्सनका लागि प्रयास भइरहेको उहाँले बताउनुभयो।

सडक विभागलाई आफूहरुले खबर गरेकाले त्यहाँबाट प्राविधिक नआउँदासम्म सडक सञ्चालन गर्न सकिने अवस्था नभएको उहाँको भनाइ छ। झन्डै तीन वर्षअघि पनि सोही पुलमा प्वाल परेको थियो। हाल पुनः समस्या देखिएपछि यात्रुहरू अलपत्र परेका हुन्।

यसअघि नवलपुरको गैँडाकोटको जय श्रीपूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएका थिए। जीर्ण अवस्थामा रहेका यी पुलहरु विगत १० बर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *