सरकारले नेपालमा वृक्षरोपणको २० बर्से महाअभियान सुरु गर्ने भएको छ। ‘सगरमाथा वृक्षरोपण महाअभियान’ नाममा सन् २०२५ देखि २०४५ सम्म २० बर्से वृक्षरोपण महाअभियान चलाइने भएको हो।

अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर आजदेखि २० वर्षे महाअभियानको शुरुआत गर्न लागिएको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जानकारी दिनुभयो। वृक्षरोपण महाअभियानको उद्घाटन ललितपुरको गोदावरीमा रहेको जिल्ला वन कार्यालय परिसरमा हुँदैछ।

वनमन्त्री शाहीका अनुसार महाअभियानका क्रममा नेपालको पूर्ण जनसङ्ख्या अनुसार एक व्यक्ति एक बिरुवा पर्ने गरी हरेक वर्ष तीन करोड बिरुवा २० वर्षसम्म निरन्तर रोपण गरिने छ। असार १४ देखि साउन १५ सम्म एक महिना उपयुक्त जग्गामा वृक्षरोपण गरिनेछ। त्यसअनुसार २० वर्षसम्म ६० करोड बिरुवा रोपिनेछ।

विशेषगरी स्थानीय परम्परागत र फलफूलजन्य बिरुवा रोपिनेछ। रोपिएका हरेक बिरुवामा नागरिकको स्वामित्व र संरक्षण हुने गरी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य छ। सरकारले जैविक विविधता संरक्षण, हिमाल संरक्षण र कार्बन उत्सर्जन कम गर्ने नीति लिएको छ। नेपालको वन क्षेत्रले अहिले कुल भू–भागको झण्डै ४५ प्रतिशत ढाकेको अनुमान छ।

महाअभियान अन्तर्गत सङ्घ, प्रदेश र पालिकाको सहकार्यमा वृक्षरोपण हुनेछ। त्यसका लागि सम्बन्धित प्रदेश तथा पालिकाको जिल्ला वन कार्यालयका नर्सरीमा निःशुल्क बिरुवा प्रदान गरिने छ। गएको जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादको आह्वान अनुसार यो महाअभियान सञ्चालन गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *