आज नेपालमा संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रमसहित देशभर उत्सवपूर्ण वातावरणमा मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट पारित नेपालको संविधान, २०७२ तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ ।

काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा संविधान दिवसको मूल समारोह आयोजना गरिएको छ। गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीका अनुसार समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले देशवासीलाई सम्बोधन गर्नुहुनेछ। समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, र विभिन्न सामाजिक सङ्घसंस्थाले सहभागिता जनाउँदैछन्।

अहिलेको विशेष राजनीतिक परिस्थितिका कारण परम्परागत झाँकी र सांस्कृतिक कार्यक्रमहरू भने सीमित गरिएको छ। तथापि, देशभरका विभिन्न जिल्ला र स्थानीय तहमा संविधानको महत्व र उपलब्धिबारे जनचेतना फैलाउने कार्यक्रमहरू आयोजना गरिएका छन्।

नेपालको संविधान, २०७२ ले देशको परिवर्तित राजनीतिक उपलब्धिहरूलाई संरक्षण गर्दै समावेशी, लोकतान्त्रिक, र सङ्घीय शासन प्रणालीको जग बसालेको छ। यो संविधानले मौलिक हक, सामाजिक न्याय र समानताको प्रत्याभूति गरेको छ। तर, संविधान कार्यान्वयनका क्रममा विभिन्न चुनौती र कमजोरीहरू पनि देखिएका छन्।

यस वर्ष संविधान कार्यान्वयनको उपलब्धि, कमीकमजोरी र समसामयिक चुनौतीबारे व्यापक बहस र छलफल गर्ने योजना थियो। तर, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले जनधनको क्षति र राजनीतिक अस्थिरता निम्त्याएपछि यस्ता कार्यक्रमहरू प्रभावित भएका छन्। आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते राजीनामा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *