शुक्रवार बेलुकीदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक अझै खुलेको छैन। मुग्लिन नजिकै पर्ने तुईन खोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।
शुक्रबार खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेका कारण सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
सडक अवरुद्ध भएपछि शुक्रवार रातिदेखि नै सयौं यात्रुहरू बाटोमै अलपत्र परेका छन्। अहिले पनि सडकमा धेरै सवारी साधन र मानिसहरू अलपत्र छन्। राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ।
कोही गाडीमै र कोही सडकमै सुतेका छन्। धेरै यात्रु भोकै बस्न बाध्य छन्। आज उज्यालो हुनेबित्तिकै सडक खुलाउने प्रयास शुरु भएको र पहिरो ठूलो भएकाले खुल्न समय लाग्ने मुग्लिन प्रहरीले बताएको छ।
