यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका। भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका धुमधामका साथ मनाइँदैछ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। यसरी पूजा गरी टीका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि विहान ११ बजेर ३९ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिनुभयो।

सोमवार लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ।

तिहारमा लगाइने टीकाको शास्त्रीय मान्यता पाँच रंगको -रातो, सेतो, पहेंलो, हरियो र नीलो -रहेको छ। यद्यपि पछिल्ला वर्षहरूमा सप्तरङ्गी टीका पनि लोकप्रिय बन्दै गएको छ।

दाजुभाइ र दिदीबहिनी नहुनेका लागि भने काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आजका दिन बिहानै देखि खुला गरिन्छ। वर्षमा एकपटक यही दिन मात्रै खुल्ने उक्त मन्दिरमा अश्रितहरू गई पूजा, दर्शन र टीका लगाउने गर्छन्।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ।

भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन्। भक्तपुरका केही नेवार समुदायले हिजो नै किजापूजा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *