त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन्।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।
लुम्बिनीले इलिमिनेटर खेलमा हिजो काठमान्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ। हारसँगै काठमान्डु प्रतियोगिताबाट बाहिरिएको छ।
आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ। विजयी टोलीले उपाधिका लागि त्रिवि रंगशालामा पर्सि शनिबार दिउँसो साढे ३ बजे सुदूरपश्चिमसँग सामना गर्नेछ।
यस सिजनको एनपीएलमा लुम्बिनीले ७ खेल खेल्दा ४ मा जित र ३ खेलमा हारेको छ। ७ खेल खेलेको विराटनगरले ५ खेल जितेको छ भने २ खेलमा हार व्यहोरेको छ।
