नेपाली काँग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई फर्किन आह्वान गरेको छ। पार्टी परित्याग गरेर स्वतन्त्र बसेका तथा अन्य पार्टीमा गएर उम्मेदवार बनेकालाई पार्टीमा फर्कन काँग्रेसले आह्वान गरेको हो।

कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको जनाउँदै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

‘विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरूलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ,’ पार्टीका तल्ला कमिटीहरूलाई पठाइएको परिपत्रमा भनिएको छ, ‘त्यसरी फर्किने साथीहरूलाई क्रियाशिल सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ।’

बैठकले विभिन्न पेशा व्यवसाय र विविध क्षेत्रमा क्रियाशिल व्यक्तिहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ।

‘विभिन्न पेशा व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिहरूलाई नेपाली काँग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ,’ काँग्रेसले भनेको छ, ‘आजको परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक र व्यवसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय नेपाली काँग्रेस गर्दछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *