निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत गरेको छ। आयोगको आइतबार बसेको बैठकले आचारसंहिता पारित गरेको जानकारी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएका छन्।

उनका अनुसार स्वीकृत आचारसंहिता माघको पहिलो सातादेखि कार्यान्वयन हुनेछ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने सन्दर्भमा आचारसंहिता समयमै लागु गर्न लागिएको आयोगले जनाएको छ।

यसअघि निर्वाचन आयोगले आचारसंहिताको मस्यौदा सार्वजनिक गरी सरोकारवालासँग राय सुझाव मागेको थियो। प्राप्त सुझावहरूलाई समेत समेट्दै आचारसंहिता अन्तिम रूप दिइएको आयोगको भनाइ छ। आयोगका अनुसार यसपटक आचारसंहिताको दायरा अघिल्ला निर्वाचनको तुलनामा अझै फराकिलो बनाइएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले पहिले आचारसंहिता सचेतनामुखी रहे पनि यसपटक कारबाहीमुखी बनाइएको बताए। “पहिले चेतना फैलाउने मोडल थियो, अब भने उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्ने व्यवस्था गरिएको छ,” उनले भने।

तत्काल आचारसंहिता लागु गर्दा सरकारका नियमित कामकारबाहीमा असर पर्न सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै माघको पहिलो साताबाट कार्यान्वयनमा ल्याउने निर्णय गरिएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *