प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेश गर्ने अन्तिम दिन रहेको छ।
आज दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेश गरिसक्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। दलले यही पुष १३ र १४ गतेसम्म पेश गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुष १५ देखि २० गतेसम्म छानबिन गरिने उनले बताए।
आयोगले पुष २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुष २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ।पुष २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ। माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ। माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिए।
सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन्। समानुपातिकको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज बन्द सूचीतर्फका उम्मेदवारको सूची पेश गर्न पाउनेछन्।
