सर्लाहीको बलरा नगरपालिकाका मेयरसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। खेलौना बनाउने तालिमका नाममा चार लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको हो।
अख्तियारले मेयर कुशवाहासहित प्रमुख प्रशासकीय अधिकृत सुशीलकुमार साह, लेखापाल राजकुमार महतो, तत्कालीन योजना शाखा प्रमुख उदयकुमार साह, वडा नम्बर ५ का अध्यक्ष मनोज मोहन कुमार सिंह तथा रौतहटको शान्ति विकास कल्याण केन्द्रका अध्यक्ष सविन्द्र नारायण साह, सदस्यहरू उमेश कुमार पासवान र जाजुल मिया कवारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उनीहरूले किशोरीहरूका लागि खेलौना बनाउने तालिम सञ्चालन गर्न सम्झौता गरेको तर तालिम नै नदिई नक्कली बिल बनाएर बजेट हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले उनीहरूविरुद्ध जनही ३ लाख ८२ हजार ५३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ।
