प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ।
त्यस अवसरमा मन्त्रीगण, प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव तथा सचिव, विभागीय प्रमुख, निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरण सम्बन्धी प्रवचन दिएका थिए।
नेपालका विविध सामाजिक–राजनीतिक आन्दोलनहरू तथा जेनजी पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको शर्माको भनाइ थियो।
उनले भने-“स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्र होइन, यो आन्तरिक रूपमा व्यक्तिलाई खुसी र शान्त रहन सिकाउने र बाह्य रूपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पुर्याउने प्रयोगात्मक जीवन पद्धति पनि हो। स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशासित र सचेत बनाउन सिकाउँछ। त्यसपछि परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ। स्वजागृत व्यक्तिले अधिकार मात्र खोज्दैन, आफ्नो कर्तव्य के हो भन्ने प्रश्न आफैँसँग गर्छ।”
प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो।

