राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ। पहिलो पटक सांसद बनेकाहरूलाई काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण, कार्यदिशाबारे सुसूचित गर्न, काममा एकरूपता कायम गर्नका लागि रास्वपाले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो।
आज र भोलि हुने कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिसहित सबै नेता तथा सांसदहरू सहभागी हुनेछन्। सांसदका काम, कर्तव्य र अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे जानकारी दिनका लागि अभिमुखीकरण कार्यक्रम गर्न लागिएको रास्वपाले जनाएको छ।
देशको वर्तमान अवस्था, पार्टीको बाचा, जिम्मेवारी र सांसदको भूमिकाबारे सांसदहरूलाई प्रशिक्षण दिइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। सांसदहरूलाई प्रशिक्षण दिनका लागि रास्वपाले संसदीय अभ्यासका जानकार, संविधानविद्, इतिहासविद्, परराष्ट्रविद्, अर्थविद्हरूलाई आमन्त्रण गरेको छ।
अभिमुखीकरण कार्यक्रममा सांसदहरूलाई मोबाइलको प्रयोग गर्न र तस्बिर खिच्न प्रतिबन्ध लगाइनुका साथै कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट तथा बैठक नगर्न निर्देशन दिइएको छ।
