माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डको अनुसार बिहीबार (भोलि) देखि सुरु हुने परीक्षाको तयारी पूरा भएको हो।
शैक्षिक क्यालेन्डरअनुसार चैत्र पहिलो साता परीक्षा हुनुपर्ने हो। तर २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैत्रमा धकेलिएको हो।
‘सबै तयारी पूरा भएको ७७ वटै जिल्लाबाट जानकारी आएको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने।
उनका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ। केन्द्राध्यक्षहरू पनि नियुक्त भएर सम्बन्धित केन्द्रमा पुगेका छन्। परीक्षा सञ्चालनका लागि कर्मचारी र सुरक्षाकर्मीको टोली पनि खटिएको छ। यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको छ। एउटा केन्द्र जापानमा छ।
बोर्डका अनुसार ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन्। जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई परीक्षा दिँदैछन्। पहिलो दिन भोलि अंग्रेजीको परीक्षा हुनेछ।
बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार एसईई १ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी भैरहेको बताएका छन्।
