नेपाली समाजमा आमालाई जीवनदायिनी, ममता र स्नेहकी प्रतिमूर्ति मानिन्छ । यिनै आमाप्रतिको सम्मान र कृतज्ञता प्रकट गर्ने उद्देश्यले हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै छ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

यस विशेष दिनलाई आमा र सन्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसरका रूपमा लिइन्छ। जीवित आमा हुनेका सन्तानले बिहानै स्नान गरी आमालाई भेटेर मिष्ठान्न भोजन, वस्त्र वा उपहार प्रदान गर्दै आशीर्वाद लिने परम्परा छ। टाढा रहेका सन्तान आमालाई भेट्न घर पुग्छन् भने कतिपयले फोन वा सामाजिक सञ्जालमार्फत शुभकामना र भावनात्मक सन्देश पठाउने गर्छन्।

त्यसैगरी आमा दिवङ्गत भइसकेका सन्तानले आमाको सम्झनामा श्राद्ध, तर्पण र पिण्डदान गरी मोक्ष प्राप्तिको कामना गर्ने धार्मिक परम्परा छ। यसरी मातातीर्थ औँसीले जीवित र दिवङ्गत दुवै आमाप्रति श्रद्धा प्रकट गर्ने अवसर प्रदान गर्छ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ।

नेपाली संस्कृतिमा आमालाई सृष्टिकर्ता सरह मानिन्छ। आमा नौ महिनासम्म सन्तानलाई गर्भमा राखेर असह्य पीडा सहँदै जन्म दिनु मात्र होइन, जीवनभर उनीहरूको पालनपोषण, शिक्षा र मार्गदर्शनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छिन् । त्यसैले आमालाई ‘ममता र स्नेहको सागर’ का रूपमा सम्मान गरिन्छ।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *