पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। मुम्बईको वानखेडे स्टेडियममा हिजो भएको खेलमा पञ्जाबले १९६ रनको लक्ष्य १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाएको थियो। मुम्बईका लागि क्विन्टन डि कक ले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ११२ रन बनाए। उनले ६० बलमा ८ चौका र ६ छक्का प्रहार गरे।
नमन धिरले ३१ बलमा समान ३ छक्का र चौकासहित ५० रन जोडे। तर अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसक्दा टोलीले २०० रन नजिक पुगेर पनि ठूलो लक्ष्य बनाउन सकेन। कप्तान हार्दिक पाण्डेयले १४ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
लक्ष्य पछ्याउने क्रममा पञ्जाबका ब्याटरले आक्रामक प्रदर्शन गर्दै १६.३ ओभरमा ३ विकेट गुमाउँदै जित निकाल्यो। जितका लागी प्रभसिमरन सिंह ३९ बलमा ११ चौका र २ छक्काका साथ अविजित ८० रन बनाए ।
कप्तान श्रेयस अय्यरले ३५ बलमा ५ चौका र ४ छक्कासहित ६६ रन बनाए। दुवै खेलाडीले मिलेर मुम्बईको बलिङ आक्रमण कमजोर बनाउँदै सहज जित दिलाए। टोलीका प्रियांस अएरले १५, कोपर कोनालले १७ र मार्कोस स्टोइन्सले नटआउट १० रन जोडे। पञ्जाबका अर्शदीप सिंह ले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए।
मुम्बई लगातार चौथो खेलमा पराजित भयो। पञ्जाब अपराजित रहँदै अंकतालिकाको शीर्ष स्थानमा उक्लियो।
