बुद्ध एयरले आफ्नो उडान सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक प्रविधियुक्त नयाँ सिरिजको ‘एटीआर-७२-६००’ विमान भित्र्याएको छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिने विज्ञप्तिमार्फत जनाएको छ।

कम्पनीले कल साइन ९ एन–एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो। यो एटीआर–७२–६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ। यो सिरिजका विमानलाई कम इन्धन खपत र वातावरण मैत्री मानिन्छ।

यो नयाँ विमानसहित बुद्ध एयरको हाल एउटा एटीआर-४२-३२०, १५ वटा एटीआर-७२-५०० र एउटा एटीआर-७२-६०० गरी कुल १७ वटा विमान पुगेका छन्।

नयाँ विमानको मद्दतले काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटरको कम भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिने भएकाले खराब मौसम (कम भिजिबिलिटी) का कारण हुने उडान ढिलाइ र रद्द हुने समस्या उल्लेख्य रूपमा घट्ने बुद्ध एयरको विश्वास छ।