देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशका तराईमा आंशिक बदली भएको छ भने बाँकी भागमा साधारणतया बदली भएको छ। बाग्मती प्रदेशका केही तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली हुनेछ। हिमाली भेगका केही तथा पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति पनि देशभर साधारणतया बदली हुने पूर्वानुमान गरिएको छ। हिमाली र पहाडी भागका केही तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी, बाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

गएराति कोशी, बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षा भएको छ। लमजुङको कुञ्चा वर्षामापन केन्द्रमा सबैभन्दा धेरै पानी परेको छ। त्यहाँ पछिल्लो ६ घण्टामा झण्डै १२० मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै सुनसरीको धरान बजारमा ८८.२ मिलिमिटर पानी परेको छ। चितवन र गोरखामा पनि पानी ठूलो पानी परेको छ। अरु केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ।